प्रेम शेर्मा अर्थात ‘माङजाबुङे’ को निधन PREM SHERMA MANGJABUNGE

✍️ मिलन के राउत 
पक्षघातले थलिएका प्रेम सेर्मा ‘माङजाबुङे’ को निधन भएको छ । पाँचथर माङजाबुङका मुलवासी भएकैले उनले नाम थरको पछि माङजाबुङे जोडेका थिए । यही उपनामले कुनै बेला चिनिएका यी संस्कृतिकर्मीलाई आजको पुस्ताले बिरलै चिन्छ । चिनोस् पनि कसरी ! 

माङजाबुङेका सिर्जनाको आभा वर्षौदेखि हराएको थियो ।
सधैँ डायरी र कुनै न कुनै कृति हातमा च्यापेर लखरलखर उर्लाबारीतिर हिँड्ने माङ्जाबुङे पक्षघात (प्यारालाइसिस्) ले थलिएको आधा दशक नै बितिसकेको थियो । धुरन्धर संस्कृतिकर्मी उनले दर्जन बढी नाटकको निर्देशन गरे, कथा–कविता रचना गरे । सबैभन्दा महत्वपूर्ण काम त उनले ‘देउमाईको किनारमा’ जस्तो नेपाली सिने क्षेत्रकै ‘माइल स्टोन’ चलचित्र दर्शकलाई सुम्पिएका थिए । साहित्यकार सञ्जय थापा उर्फ प्रदीप नेपालको सिर्जना हो, देउमाईको किनारमा । पञ्चायती कालखण्डको जनजीवन र राजनीतिक परिर्वतनको आन्दोलनलाई समेटिएको देउमाईको किनारमा चर्चित उपन्यास पनि हो ।

केही समयअघि माङजाबुङेकै भनाईमा मै हुँ भन्ने कति फिल्मकर्मीले सो कृतिमाथि चलचित्र बनाउन जोडबल गरेपनि राजनीतिकर्मी समेत रहेका लेखक नेपाल डगमगाएनन् । भनौ, चलेका भनिएका चलचित्रकर्मीलाई नै पत्याएनन् । कारण – उपन्यासलाई फिल्मीकरण गर्दा सिर्जना झन् विकृत हुने भय उनमा थियो ।
यति हुँदाहुँदै नाटक मञ्चन गर्दै हिँड्ने तपाईँलाई चाहिँ नेपालले उपन्यास किन सुम्पिए त ? माङ्जाबुङे केही समयअघि भनेका थिए ‘मसँग पूर्वी पहाडको माटोसँगको साइनो थियो । साँच्चिकै देउमाईको किनार सुसाएको अनुभूति थियो ।’
उनले चेतनाको लहर, लिम्बुवान जस्ता अलग धारका चलचित्र र याक्खा भाषाको छालुम्मा चलचित्रको पनि निर्देशन गरेका छन् । उर्लाबारी–७ का स्थायी बासिन्दा ६० वर्षीय अशक्त माङजाबुङेको निधन भएको छ । एकमात्र छोरा भने बुहारीको साथमा अमेरिकामा छन् । शारीरिक अशक्तता नै सही उनको कसैसँग कुनै गुनासो छैन रे ! केही समय अघि भनेका थिए्, ‘जिन्दगीका भोगाइ नै यस्तै हो, कसैसँग कुनै अपेक्षा गरेर फाइदा पनि छैन ।’

Reactions

Post a Comment

0 Comments